प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चुनौती दिएका छन् ।
मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्छ भने हट्न तयार रहेको तर त्यो सहज भने नहुने बताएका हुन् ।
उनले अहिले आफूलाई कसैले हटाएपनि आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर पुनः सिंहदरबार फर्किने बताए ।
‘कसैले मलाई हटाउन सक्छ भने हटाओस्, तर त्यो सजिलो छैन,’ ओलीले भने, ‘डेढ-दुई वर्षमा त चुनाव होला, दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किन्छु, त्यो कुरा म नेपाली जनतासँग आग्रह गर्न चाहन्छु ।’
ओलीले अदालतमा आफू मुद्दा हाल्न नगएको भन्दै अदालतको आदेश पालना गर्न तयार रहेको बताए ।
आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए ।
‘फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने ।