logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार, आफैं श्वास फेर्न थाले


अंकुरण खबर
3.653K
Shares

मष्तिष्कघात भइ शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

नेता जोशीको अवस्थामा सुधार भएपछि सोमबार बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए।

‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनु भएको छ ।’ डा. झाले भने, ‘उहाँको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ ।’

बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने डा. झाले बताए ।

‘यस्ता गम्भीर बिरामीलाई श्वास फेराउन मुखबाट लामो पाइप हाल्न नपरोस् भन्ने उद्देश्यले घाँटीमा सानो प्वाल पार्ने सर्जरी गर्न लागेका हौं, त्यसपछि उहाँलाई हामीले बिस्तारै भेन्टिलेटरबाट निकाल्न सक्छौं कि भन्ने आशा पलाएर आएको छ,’डा. झाले भने ।

डा. झाका अनुसार नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइसकेको होइन।‘मष्तिष्कघात हुने व्यक्ति उपचारपछि खतरामुक्त हुन ३ देखि ४ हप्ता समय लाग्छ।’ डा.  झाले भने,‘अहिलेको अवस्थालाई हामी भेन्टिलेटर सपोर्टसहितको स्पोन्टेनियस मोड भन्छौं।’

सुरुमा वीर अस्पताल लगिएका जोशीलाई सिटी क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि शुक्रबार बिहान थापाथली स्थितनर्भिक इन्टरनेसनल अस्पताल लगिएको थियो।