नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सरकारले बुधबार नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा सांसदहरुका लागि खोप लगाउने व्यवस्था गरेको छ । प्रचण्डले सोहि अस्पताल पुगेर खोप लगाएका हुन् ।
खोप लगाउन नेकपाका नेता तथा पूर्व मन्त्री लालबाबु पण्डित पनि पुगेका अस्पताल पुगेका छन् । त्यस्तै प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पनि खोप लगाइसकेका छन् ।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदलाई खोप लगाउने व्यवस्था गरिएको सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयका बाँकी कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक प्रहरी, बम डिस्पोजल, कुकुरबाट सुरक्षा जाँच गर्ने सुरक्षाकर्मीलाई बिहीबार खोप लगाउने तयारी छ ।
यसैगरी बुधबार र बिहीबार खोप लगाउन छुटेका कर्मचारीलाई आउँदो शुक्रबार खोप लगाइने संसद सचिवालयले जनाएको छ ।