अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दाबी गरेका छन् ।
बिहीबार गृह जिल्ला रुपन्देहीमा पत्रकारहरुसँग कुरा गर्दै प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्ने बताएका हुन् ।
‘जनताले केपी शर्मा ओली नेतृत्वको पार्टीलाई नै नेकपाको बागडोर सम्हाल्न दिएका हुन् र अब पनि दिने छन्’ उनले भने ।
पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन दाहाल–नेपाल समूह लागिरहेको आरोप लगाए । उनले दाहाल–नेपालको प्रयास निरर्थक पनि बताए ।
उनले भने, ‘उहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहरूको प्रयास निरर्थक हुनेछ ।’