रुपन्देहीको मोतिपुरमा औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेलको सवारीमाथि ढुंगा प्रहार भएको छ ।
बुटवल र तिलोत्तमास्थित तिनाउ नदीको उकास क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णयको स्थानीयले विरोध गरिरहेका थिए ।
स्थानीयले विरोध गर्दै मञ्च नै भत्काइदिएपछि रातारात मञ्च निर्माण गरिएको थियो र अर्थमन्त्री समेत रहेको सोही क्षेत्रका सांसद विष्णु पौडेल कोरिडोरको शिलान्यसा गर्न सुरक्षासहित गएका थिए ।
उनको सवारी कार्यक्रमस्थल तर्फ जाँदै गर्दा उनी लक्षित ढुंगा प्रहार भएको छ ।
विवादित कार्यक्रम अघि बढाएको भन्दै गाडी लक्षित ढुंगा प्रहार भएको हो । अहिले स्थानीयले नाराबाजी गर्दै तनावको स्थिति भइरहेको छ । केही प्रहरीहरू घाइते भएका छन् ।
स्थानीयको समूहले आफुहरुको जग्गामा करिडोर बनाउन लागेको भन्दै शिलान्यास समारोहका लागि तयार गरिएको मञ्च र शिलालेख स्तम्भ भत्काएका थिए ।
वैकल्पिक व्यवस्था नभएसम्म र मुआब्जा नदिएसम्म शिलान्यास गर्न नदिने भन्दै स्थानीयले नाराबाजी गरिरहेका छन् । तर कडा सुरक्षाबीच शिलान्यसा गर्ने तयारी गरिएको छ ।
