नेत्रविक्रम चन्द ‘विप्लव’ तीन वर्षपछि पहिलोपटक सार्वजनिक भएका छन् ।
सरकारसँग विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउनेलगायतका तीन बुँदे सहमति भएपछि उनी सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिएका हुन् ।
राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच नेकपाका महासचिब नेत्रविक्रम चन्द (विप्लव) र प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिमा हस्तारक्षर गर्दैछन् ।
सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका छन् । विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसअघि सरकार र नेकपाबीच भएको वार्तामा बिहीबार तीन बुँदे सहमति भएको थियो । वार्ता सफल भएसँगै विप्लव शुक्रबार बिहानै पूर्वी नवलपरासीमा देखिएका थिए ।