नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सम्पन्न सहमितमा शुक्रबार हस्ताक्षर भएको छ ।
राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट खड्ग विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।
यसअघि बिहीबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको थियो । सोही तीन बुँदे सहमतिपत्रमा प्रधानमन्त्री ओली र विप्लवको उपस्थितिमा वार्ता टोलीका सदस्यहरूले औपचारिक रुपमा हस्ताक्षर गरेका हुन्।
सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव शुक्रबार बिहान नवलपरासीबाट सार्वजनिक भएर अपरान्ह काठमाडौं आइपुगेका थिए । बालुवाटार पुगेका उनी प्रधानमन्त्री ओलीसँग राष्ट्रिय सभागृह पुगेका हुन् ।
सहमतिपत्र:
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।