२२ तोला सुनबाट बनेको सिक्रीसहित १ जना व्यक्ति काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गाबाट पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित प्रहरीले १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको नकुबार जानादारा जोयपुर हाउराह घर भएका ३१ वर्षीय तपास सस्माल छन् ।
प्रहरीका अनुसार वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमोलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा सस्माल पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टाटा सुमोमा सवार सस्मालले झोलामा लुकाएर ल्याएको बिल भर्पाइ नभएको २४ थान सुनको सिक्री फेला परेका थिए ।
पछि तौल गर्ने क्रममा सुनको परिणाम २२ तोला ३२ लाल भएको खुलेको हो । सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।