प्रधानमन्त्री केपी शर्मा ओलीले पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सबै नेता कार्यकर्तालाई प्रक्रिया पुर्याएर छोडिने बताएका छन् ।
सरकार र नेकपाबीच भएको सहमतिपत्रमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छुट्ने प्रक्रिया सुरु भइसकेको बताए ।
आजैमात्र नख्खु कारागारबाट छुटेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई बधाई दिदै उनले भने, ‘यति छिट्टै जेलबाट छुट्न पाए पो आफू त १४ वर्ष परियो ।’
धर्मेन्द्र बास्तोला केही महिनाअघि मात्र पक्राऊ परेका थिए । उनी शान्ति सम्झौता अगावै रिहा भए । ओलीले अन्य नेता कार्यकर्ता पनि धमाधम छुट्ने बताए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सम्पन्न सहमितमा शुक्रबार हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट खड्ग विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।
विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको छ ।