नेकपा (प्रचण्ड–माधव) समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकको अध्यक्षता ज्येष्ठताका हिसाबले वरिष्ठ नेता झलनाथ खनालले गरेका थिए ।
यसैबीच प्रचण्ड–माधव समूहले आफूतिर ११२ सांसद रहेको दाबी गरेको छ । मानव अधिकार तथा कानुन समितिका सभापति कृष्णभक्त पोखरेलले भेलामा १ सय १२ सांसद रहेको बताए ।
भेलामा जम्मा भएको हस्ताक्षर लिएर यो समूह निर्वाचन आयोग समेत पुगेको छ । भेला चलिरहेका बेला राष्ट्रिय सभा सदस्य रामनारायण विडारी लगायतका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।
बैठकबाट नेकपाको संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाई नयाँ संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको हो ।
प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाको प्रचण्ड–माधव पक्षले त्यसलगत्तै ओलीलाई हटाएर उनको ठाउँमा पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थियो।
त्यतिबेला प्रतिनिधि सभा नरहेको हुँदा अहिले थप विधिवत् रुपमा संसदीय दलको नेता चयन गरिएको उक्त समूहले जनाएको छ ।