logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसका अधिकांश सांसदले भने- ओलीसँग सहकार्य नगरौं


अंकुरण खबर
793
Shares

नेपाली कांग्रेसका अधिकांश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नहुने पक्षमा उभिएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले अबको सरकार गठनमा ओलीसँग मिल्न नहुने धारणा राखेका हुन् ।

ओलीले संविधान मिचेर संसद्को हत्या गर्न खोजेकाले उनीसँग सहकार्य गर्न नहुने उनीहरूको भनाई छ ।

बैठकमा भीमसेनदास प्रधान, राजन केसी लगायतका अधिकांश सांसदले ओलीको पक्षमा उभिन नहुने धारणा राखेका छन् । हालसम्म २८ जना सांसदले बोलिसकेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेका थिए । तर, सर्वोच्च अदालतले फागुन ११ गते सरकारको निर्णयलाई उल्टाइदिएको थियो ।

सर्वोच्चको फैसलापछि सरकारले आइतबार प्रतिनिधिसभाको बैठक डाकेको छ । प्रतिनिधिसभाको बैठकअघि रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । बैठकको सुरुमा सभापति शेरबहादुर देउवाले सांसदहरुलाई आ–आफ्नो धारणा राख्न लगाएका थिए ।

देउवाले नेकपा फुटिनसकेकाले यो पक्ष वा त्यो पक्ष नभनीकन आ-आफ्नो धारणा राख्न निर्देशन दिएको सांसद मीन विश्वकर्माले जानकारी दिए ।

‘नेकपा अहिले कानूनी रुपमा फुटेको छैन, यस्तो बेला प्रतिनिधिसभामा हामी कसरी बढ्ने ? साथीहरुले धारणा राख्नुहोला,’ देउवाले भनेका थिए,  ‘अहिले नै यो पक्ष वा त्यो पक्ष भनेर नलागौं । कांग्रेको भूमिका कस्तो हुने भन्ने बारेमा धारणा राख्नुस् ।’

प्रतिनिधिसभा पुनः स्थापनापछि सरकारमा जाने वा नजाने बारे कांग्रेसमा मतान्तर छ । नेकपाको दाहाल–नेपाल समुहले कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव अघि सारेको छ। तर, कांग्रेस निर्णयमा पुगिसकेको छैन ।