Breaking Newsपत्रपत्रिका

भारतीय कुखुरा तस्करीले बर्डफ्लुको जोखिम

गत पुस २२ मा भारतको मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लु भेटिएको समाचार सार्वजनिक भयो ।

त्यसको पुष्टि भने भारतले पुस २५ मा मात्रै गर्‍यो । भारतमा बर्डफ्लु देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरेर शंकास्पपदरजोखिम जोडिएका पदार्थ कुखुराको मासु र मासुजन्यमा रोग संक्रमित मुलुकबाट पशुपन्छी तथा पशुजन्य वस्तु आयातमा बन्देज लगाएको छ ।

भारतलगायत संक्रमित मुलुकबाट आयात बन्देज भए पनि खुला सीमाका कारण तस्करी व्यापक छ । पुसमा मात्रै कुखुराका चल्ला, ब्रोइलर, लोकल कुखुरा र हाँस गरी १५ हजार ८३ वटा नष्ट गरिएको पशु सेवा विभागअन्तर्गत क्वारेन्टाइन महाशाखाले जानकारी दिएको छ । माघमा १७ हजार ४२ वटा र फागुन दोस्रो सातासम्म सीमा क्षेत्रमा २२ सय ५५ वटा पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्री नष्ट गरिएको छ ।

चालु आर्थिक वर्षको फागुन दोस्रो सातासम्ममा ५६ हजार ८ सय ५६ वटा पशुपन्छीजन्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ । ‘तुलनात्मक रूपमा मासु र चल्लाको मूल्य यहाँ महँगो छ,’ विभागका प्रवक्ता चन्द्र ढकालले भने, ‘जसले गर्दा अवैध रूपमा चोरीपैठारी भएको छ ।’ सीमा प्रहरी, भन्सार कार्यालय र क्वारेन्टाइन कार्यालयको सक्रियतामा उक्त पशुपन्छीजन्य वस्तु नष्ट गरिएको हो । तर खुला सीमाका कारण नष्ट गरिएको परिमाणभन्दा दोब्बर भित्रिने गरेको जानकारहरू बताउँछन् ।

नेपालमा एक किलो मासुको मूल्य ३ सय ७० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायीका अध्यक्ष जंगबहादुर बीसीले जानकारी दिए । तर भारतमा भारु १ सय रुपैयाँमा एक किलो किन्न पाइन्छ । भारतबाट नेपाल भित्र्याउन सके किलोमै दोब्बर फाइदा हुने हुँदा तस्करी बढेको हो । ‘भारतमा बर्डफ्लुका कारण केही ठाउँमा बिक्री प्रतिबन्ध गरिएको छ । व्यवसायी मासु फाल्ने अवस्थामा पुगेका छन् । त्यही भएर सीमामा भारतीय कुखुरा बिक्री भइरहेको सत्य हो,’ बीसीले भने, ‘केही ठाउँमा सरकारी अधिकारीले समातेर नष्ट गरे पनि मिलोमतोमै दोब्बर परिमाणमा भित्रिएको छ ।’ यो समचार राजु चौधरी आजको कान्तिपुर दैनिकमा लेखेका छन् ।

Comment here