३७ वर्षअघि नेपालबाट चोरिएको मूर्ति अमेरिकी सरकारले नेपाललाई नै हस्तान्तरण गरेको छ ।
नेपालबाट चोरिएको लक्ष्मीनारायण (वसुदेव–कमलाजा) को मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
पाटन मन्दिरमा रहेको ऐतिहासिक मूर्ति सन् १९८४ मा नेपालबाट चोरिएको पत्ता लागेपछि अमेरिकाले नेपाली दूतावासमै फागुन २१ गते (हिजो) कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । उक्त मूर्तिलाई १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्स मा राखिएको थियो । नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाइको छ । दूतावासले युनेस्कोको आवश्यक प्रक्रिया पुरा गरेर नेपाल ल्याइने जनाएको छ ।
यस्तो छ दूतावासको विज्ञप्ति
२०७७ फागुन २१, वाशिङ्टन, डी.सी.
अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) र डल्लास म्युजियम अफ आर्टबिचको महिनौँको संयुक्त अनुसन्धानपछि लक्ष्मी नारायणको प्रतिनिधित्व गर्ने मूर्ति चोरी भएको झन्डै ४० वर्षपछि नेपालीको संरक्षणमा फिर्ता गरिएको छ । वाशिङ्टन, डी।सी।स्थित नेपाली राजदूतावासमा आयोजित सानो समारोहका बिच उक्त मूर्ति हस्तान्तरण गरिएको हो । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र एफबीआई तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारी लगायतका अतिथिहरू समारोहमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको स्वागत गर्दै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भन्नुभयो, लक्ष्मी नारायणको मूर्ति अन्ततः आफ्नो घर अर्थात् नेपालीहरूको हातमा फर्किने भएकोमा मलाई ज्यादै हर्ष लागेको छ । नेपाली संस्कृति, धर्म र इतिहासमा अत्यन्त ठूलो महत्त्व राख्ने अन्य वस्तुहरूलाई नेपाल फर्काउन अमेरिकाले नेपालसँग सहकार्य गर्नेछ । अन्य सरकार, सङ्ग्रहालय र सङ्कलकहरूले पनि त्यसै गर्नेछन् भन्ने मलाई आशा छ ।
लक्ष्मी(नारायणको उक्त काँस्य मूर्ति ९जसलाई वासुदेव कमलाजा समेत भनिन्छ) १२औँ र १५औँ शताब्दीबिचको पुरातात्विक सम्पदा हो । सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो । नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ । हराएको छ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्ति पछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो । एक परियोजनाका लागि नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले इमेज सर्च ९तस्बिर खोजी० का माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला पार्नुभएको थियो । त्यसकै प्रतिफलस्वरूप उक्त मूर्ति पत्ता लागी फिर्ताको चरणसम्म पुगेको हो ।
चोरी भएका पुरातात्विक सम्पदालाई कानुन कार्यान्वयन गर्ने निकायसँगको सहकार्य र कूटनीतिक प्रयासमार्फत फिर्ता गर्ने लगायतका कार्य गरी नेपालमा सांस्कृतिक संरक्षण हुनु पर्दछ भन्ने कुराको अमेरिका बलियो समर्थक हो । नेपालभित्र पनि अमेरिकी सरकारले नेपाललाई आफ्नो अनुपम सांस्कृतिक सम्पदालाई संरक्षण र कायम गर्नका लागि मद्दत गर्ने दिशामा महत्त्वपूर्ण भूमिका खेलेको छ । सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) नामक अमेरिकी सरकारको कार्यक्रमले सांस्कृतिक सम्पदाको संरक्षणार्थ प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँछ । काठमाडौँको गद्दी बैठक जीर्णोद्धार लगायत नेपालमा २५ ओटा एएफसीपी परियोजना सम्पन्न भइसकेका छन् । यस्ता परियोजनाले सामुदायिक साझेदार र स्थानीय तथा संघीय सरकारहरूसँग सहकार्य गर्दछन् । सन् २००३ यता एएफसीपीले नेपालमा २५ सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख अमेरिकी डलरभन्दा बढी रकम लगानी गरेको छ । एएफसीपी परियोजनाका हिस्सास्वरूप अनुदान प्राप्त गर्ने हाम्रा साझेदारहरूले युवा पुस्तामा ज्ञान स्थानान्तरण गर्न सकियोस् भनी कलाकारका लागि तालिम समेत सुनिश्चित गर्दछन् ।
सांस्कृतिक संरक्षणसम्बन्धी प्रयत्नका अतिरिक्त नेपालस्थित अमेरिकी नियोगले नेपाल र अमेरिकाबिच ज्ञान र अनुभव साटासाट गराउनका लागि कलाकार, क्युरेटर, सङ्ग्रहालय निर्देशक र कला प्राज्ञका लागि सांस्कृतिक आदानप्रदानको अवसर उपलब्ध गराउँदछ ।