प्रचण्ड–नेपाल समूहले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएको छ ।
कांग्रेससँग मिलेर प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयारी गरिरहेको भए पनि आइतबार भने अविश्वासको प्रस्ताव दर्ता नहुने भएको हो ।
प्रचण्ड–नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले आज अविश्वासको प्रस्ताव दर्ता नहुने बताइन् । ‘आज अविश्वासको प्रस्ताव दर्ता हुँदैन, हामी छलफलमै छौँ’, झाँक्रीले भनिन् ।
अविश्वासको प्रस्ताव रोकेर प्रचण्ड–नेपाल पक्ष आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारी दिन संसद सचिवालय पुगेको छ ।
सांसद दीपकप्रकाश भट्टले ९० जना प्रतिनिधि सभा २४ जना राष्ट्रिय सभाका सांसद गरी १ सय १४ जनाको संसद सचिवालयमा उपस्थित भएको जानकारी दिए ।
प्रधानमन्त्रीको अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेसले स्पष्ट धारणा नदिएपछि प्रचण्ड–नेपाल समूह आइतबार अविश्वासको प्रस्ताव नल्याउने टुंगोमा पुगेको हो ।