सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिने फैसला सुनाएको छ ।
नेकपा आधिकारिकता विवादमा सर्वोच्च अदालतको फैसला ऋषि कट्टेलको पक्षमा आएपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको वैधानिकता संकटमा परेको छ ।
आइतबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले २०७५ मंसिर २१ गते हालेको कट्टेलको रिट जारी हुने फैसला सुनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले नेकपा २०७० साउन २२ गते निर्वाचन आयोगमा दर्ता गरेका थिए । उक्त पार्टीको संक्षिप्त नाम नेकपा भनी जनाइएको थियो । निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता कायमै थियो ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले २०७५ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी एकता गरेका थिए ।
पार्टी एकतापछि उनीहरुले एकिकृत पार्टीको नाम नेकपा राखेका थिए । निर्वाचन आयोगले दबाबमा नेकपा राखिदिएपछि कट्टेल सर्वोच्च पुगेका थिए । सोही मुद्धामा सर्वोच्चले आज फैसला सुनाएको हो ।