पहिलो चरणको खोप अभियानमा करिब पाँच लाख मानिसले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
माघ १४ गते देखि देशभर सुरु भएकोपहिलो चरणको खोप अभियान फागुन २२ गतेसम्म सञ्चालनमा रहेको थियो । फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रबक्ता डा. जागेश्वर गौतमले बताए ।
‘पहिलो चरणको कोरोना विरुद्धको खोप अभियानमा करिब पाँच लाख मानिसले खोप लगाएका छन्,’ उनले काठमाडौं प्रेससँग भने ‘लक्ष्य भन्दा कम मानिसले मात्र खोप लगाएका छन् ।’
कोरोना विरुद्धको खोप अभियानमा कुल लक्ष्यमध्ये जम्मा ८४.६ प्रतिशतले मात्र खोप लगाएको डा। गौतम बताउँछन् । जसमा सफाईकर्मी, स्वास्थ्यकर्मी, जिल्ला स्तरका कार्यालय कर्मचारी, स्थानिय तहका निर्वाचित प्रतिनिधि, कारागारका कैदी,महिला स्वयंसेविका, सुरक्षाकर्मी र पत्रकारहरूले खोप लगाएको उनले बताए ।
यस्तै, आगामी खोप वितरणका लागि चीन सरकारले पनि नेपाल सरकारलाई खोप अनुदान दिने भएको डा।गौतम बताउँछन् । ‘सर्वसाधारणका लागि कोरोनाविरुद्धको खोप चीनबाट ल्याउने तयारीमा छौं । तर अहिलेसम्म आइपुगेको छैन,’ उनले भने, ‘चीनले अहिलेलाई आठ लाख डोज दिने भनेको छ ।’
पहिलो चरणको खोप अभियानमा करिब पाँच लाख मानिसले खोपको पहिलो डोज लगाइसकेको र उनीहरूलाई दोस्रो डोज बैशाखको पहिलो साता दिने सरकारको तयारी छ । यस्तै दोस्रो चरणको खोप अभियानमा विशेषत ६५ वर्ष उमेरमाथिको समुहका मानिसहरूलाई प्राथमिकतामा राखेर खोप दिइनेछ ।
दोस्रो चरणको खोप अभियानमा देशभर १७ लाख मानिसलाई कोरोनाविरुद्धको खोप दिने सरकारको योजना छ । ‘सबै पालिकाका वडाहरू गरी करिब ६ हजार भन्दा बढी खोप केन्द्रहरूबाट खोप वितरण गरिनेछ,’ उनले भने, ‘ती केन्द्रहरूमा खोप र तालिम प्राप्त खोप दाता पुगिसकेका छन् ।’
यस्तै, १० दिनको यो अभियानमा उद्देश्य भन्दा चाँडै खोप वितरण कार्य सकिएको खण्डमा अन्य उमेर समुहका मानिसहरूलाई समेत खोप वितरण गर्ने तयारीमा रहेको डा. गौतमले बताए ।