दैलेखमा आफ्ना ४ जना सन्तानसहित एक आमाले कर्णाली नदीमा हाम फालेकी छन् ।
दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी ३५ वर्षीया सुकु बडुवालले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार २ जनाको हात बाँधिएको अवस्थामा शव भेटिएको जानकारी दिए ।
हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
उनले भने, नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, ८ वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।’ गोताखोर टोलीले हराइरहेकाहरुको बिहानैदेखि खोजी कार्य थालिएको छ ।
दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएको छ ।
मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
सोमबार बिहान ३ छोरी र १ छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजी शुरु गरेका थिए ।
घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने, झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ ।
नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिन आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको छ ।