logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोमल वलीले रघुजी पन्तविरुद्ध दर्ता गरिन् गाली बेइज्जती मुद्दा


अंकुरण खबर
1.651K
Shares

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेकी छन् ।

नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेकी वलीले नेता माधव कुमार नेपाल समूहमा रहेका पन्तविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

एक कार्यक्रममा नेता पन्तले वर्षौंदेखि संघर्ष गरेका, पार्टीकै लागि जीवन अर्पण गरेर गाला चाउरी पारेका महिलाले चाहिँ कुनै अवसर नपाएको तर पिडुँला देखाउँदै पोइल जान पाम भन्नेलाई चाहिँ प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य, सांसद र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिए ।

केही दिन अगाडि काठमाडौंमा आयोजित कार्यक्रमा नेता पन्तले भनेका थिए, ‘कोमल वलीले सारी सर्काएर, गोरा पिँडुला देखाएर पोइल जान पाम् भनेपछि सांसद तिनै भइन् । कपाल फुलेका बुढी कामरेडहरु न एकपटक राष्ट्रिय सभा सदस्य हुन पाएका छन्, न त केन्द्रीय सदस्य हुन पाएका छन् ।’

आफ्नो उक्त टिप्पणीको सवत्र विरोध भएपछि नेता पन्तले माफी समेत मागेका थिए । ओलीले भने पन्तको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि नै न्यायका लागि अदालत जाने बताएकी थिइन् ।

फौगदारी अपराध संहिताको दफा ३०५ को उपदफा (२) अनुसार कसैले कर्सलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा गाली गरेको मानिन्छ । गाली गर्ने व्यक्तिलाई १ वर्ष सम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने संहिताको दफा ३०५ को उपदफा (३) मा व्यवस्था गरिएको छ ।

यस्तै, अरुको इज्जतमा धक्का पुर्‍याउने नियतले अभिव्यक्ति दिनुलाई बेइज्जती गरिएको मानिने अपराध संहितामा व्यवस्था गरिएको छ । अपराध संहिताको दफा ३०७ को उपदफा (१) मा कसैले कसैको बेइज्जती गरेमा बेइज्जती गर्नेलाई २ वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।