सप्तरी बर्साइन नगरपालिका ३ गौरामा जन्ती बोकेको गाडी दुर्घटना भएको छ ।
डेरीको पर्खालमा ठोक्किएर ना १ ज ८९३८ नम्बरको गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दासको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा र अन्य घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, २३ वर्षीय रबिनकुमार दास,, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, सोही उमेरका कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादव घाइते भएका छन् ।
प्रहरीका अनुसार बिष्णुपुर गाउँपालिका १ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका ८ तर्फ फर्किने क्रममा बोदे बर्साइन नगरपालिका ३ मा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।