४ जना सन्तानसहित कर्णाली नदीमा हाम फोलेकी दैलेखकी महिलाको शव फेला परेको छ ।
सोमबार कर्णाली नदीमा हाम फालेका ५ जनामध्ये मंगलबारसम्म ४ जनाको शव फेला परेको छ । १ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
तीन छोरी एक छोरासहित सोमबार कर्णाली नदीमा हाम फालेकी दैलखको आठबीस नगरपालिका(३ की ३५ वर्षीय सुकी बडुवाल र उनका छोरा १० वर्षीय ललित बडुवालको मंगलबार शव फेला परेको हो । सुकी र उनका छोरा ललितको शव पनि पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कर्णाली किनारमा नै फेला परेको हो ।
यसअघि नदीमा बेपत्ता भएका सुकीकी छोरी १६ वर्षीय कल्पना र १२ वर्षीया सरिताको शव भने सोमबार नै फेला परेको थियो ।
कर्णालीमा बेपत्ता भएकी सुकीकी ५ वर्षीया छोरी रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ । रजनीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेश साहुले जानकारी दिए ।
मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
सोमबार बिहान ३ छोरी र १ छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजी शुरु गरेका थिए ।
आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने, झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ ।