जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा भएमा सत्ता सहकार्यको कुरा हुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिदै वरिष्ठ नेता महतोले आफ्ना मागहरू पूरा नभए सरकारमा नजाने स्पस्ट पारे । महतोले भने, ‘रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मधेश र थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिता गर्ने लगायतका माग पूरा भएपछि मात्र सत्ता साझेदारीको कुरा हुन्छ ।’
ओली सरकारलाई आफूहरूले पहिले नै समर्थन गरेर हेरिसकेको स्मरण गर्दै महतोले आफूहरू ओलीलाई समर्थन गर्न मात्रै जन्मिएको हो ? भन्दै प्रश्न गरे । आफूहरू सरकारलाई सित्तैमा समर्थन नगर्ने बताउँदै मागहरूको उचित सम्बोधन हुनुपर्ने उनले बताए ।
ओली सरकारले काम नगरेर कुरामा मात्र जोड दिएको आरोप लगाउँदै महतोले कुराकानी र वार्ताको लागि कार्यदल बनेको बताए । आफूहरू पटक-पटक ठगिएको गुनासो गर्दै उनले माग सम्बोधनको कुराकानीका लागि वार्ता कार्यदल बनाएको स्पस्ट पारे ।