logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं र सुर्खेतपछि जाजरकोटमा पनि बर्डफ्लु


अंकुरण खबर
1.599K
Shares

पशुसेवा विभागले नियन्त्रणका लागि पहल थालिएको दाबी गरिरहँदा बर्डफ्लु झन् फैलिएको पाइएको छ।

माघ दोस्रो साता काठमाडौंको तारकेश्वरमा देखा परेको बर्डफ्लु रोग नियन्त्रणका लागि सघन निगरानी गरिएको पशुसेवा विभागले जानकारी दिएको थियो। पशुसेवा विभागले बर्डफ्लु नियन्त्रणका लागि सघन निगरानी गरिएको दाबी गर्दागर्दै माघ अन्तिम साता फेरि सोही क्षेत्रमा देखिएको बर्डफ्लु फागुन दोस्रो साता सुर्खेतमा देखा परेको थियो।

तारकेश्वरमा दोस्रो पटक बर्डफ्लु देखिँदा र सुर्खेंतमा देखिँदा पनि नियन्त्रणका लागि सघन निगरानी गरिएको विभागले सूचना जारी गरेरै जानकारी गराएको थियो। तर, बुधबार फेरि जाजरकोटमा बर्डफ्लु देखिएको पशुसेवा विभागले नै जानकारी दिएको छ।

विभागका अनुसार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका कृषकले पालेका व्यावसायिक लेयर्स कुखुरामा बर्डफ्लु देखा परेको छ।

बर्डफ्लु देखिएपछि ३०० ब्रोइलर कुखुरा, ३३१ लेयर्स कुखुरा, ७० लोकल कुखुरा, ८८३ अण्डा, २५१ केजी दाना र अण्डाको क्रेट २०० वटा नष्ट गरिएको छ। विभागका अनुसार सो क्षेत्रलाई निसंक्रमण समेत गरिएको छ।

‘सियाँलका कृषकले पालेका व्यावसायिक लेयर्स कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग एचपीएआई एनफाइभ एनएट पुष्टि भएको’ विभागले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।

बर्डफ्लु पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायहरु परिचालन गरिएको समेत विभागले जनाएको छ। रोग नियन्त्रण सहज गर्नका लागि पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सक विज्ञको टोली समेत जाजरकोट पठाइएको विभागले जानकारी दिएको छ।

विभागले रोग नियन्त्रणका लागि फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, घरपालुवा पन्छीको सम्पर्कमा जंगली चराहरुको सम्पर्कमा आउन नदिन आग्रह गरेको छ।