नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ ।
आयोगले खातुनलाई आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो ।
बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गर्दै आयोगको कार्यक्रममा विशेष वक्ताको रुपमा राख्ने निणर्य भएको बताए ।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिड बिरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए ।
एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताए । यस्तै, सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताइन् ।
आफूले एसिड आक्रमणबिरुद्ध जनचेतना जगाउने काममा सधै लाग्ने पनि खातुनले बताइन् ।
केहि दिन अघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशिल भएर कार्य गरिरहेको भनेर खातुनलाई सम्मान गरेको थियो ।
खातुनलाई नेपाल सरकारले समेत अन्तराष्ट्रिय महिला दिवशको अवसरमा विशेष सम्मान प्रदान गरेको थियो ।