logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाइडेनको कोभिड राहत प्याकेज पारित, प्रत्येक नागरिकले १४ सय डलर पाउने 


अंकुरण खबर
897
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज अमेरिकी संसद्बाट पारित भएको छ ।

महामारीका कारण आर्थिक रूपमा प्रभावित अमेरिकी परिवारलाई सहयोग गर्ने मनोसायसहित बाइडेनले राष्ट्रपति नियुक्त हुनासाथ यो प्रस्ताव पेस गरेका थिए ।

बुधबार यसैसम्बन्धी भएको मतदानमा प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो । तर, रिपब्लिकनहरु कसैले पनि यसमा समर्थन जनाएनन् ।

सिनेटबाट पारित भइसकेकाले अब यसलाई कानुनमा परिणत गर्न बाइडेनको हस्ताक्षर मात्र आवश्यक पर्नेछ । यो कोभिड प्याकेज पारित हुनुलाई बाइडेनको ठूलो उपलब्धि मानिएको छ । ह्वाइटहाउसका प्रवक्ता जेन साकीका अनुसार राष्ट्रपति बाइडेनले आगामी शुक्रबार नै यसमा हस्ताक्षर गर्नेछन् ।

यो प्रस्ताव ‘देशको मेरुदण्ड समान’ हुने बाइडेनले यसअघि बताएका थिए । नागरिकलाई यसले नयाँ हौसला र ऊर्जा दिने उनको भनाइ छ ।

प्रस्तावमा के छ ?

प्रस्तावमा अधिकांश अमेरिकी नागरिकहरुलाई सिधै १४ सय डलर बराबरको पैसा प्रदान गरिने भनिएको छ । त्यस्तै, बेरोजगारी भत्तालाई पनि वृद्धि गरी प्रतिहप्ता ३०० डलर पुर्‍याइएको छ ।

यस्तै, स्कुल खुलाउनका लागि १३० अर्ब डलरको कोष, कोभिड–१९ को परीक्षण तथा अनुसन्धानका लागि ४९ अर्ब र खोप वितरणमा १४ अर्ब डलर खर्च गरिने भनिएको छ । यसअघि, प्रस्तावमा न्यूनतम पारिश्रमिकलाई पनि ७।२५ डलरबाट बढाएर प्रतिघण्टा १५ डलर बनाउने भनिएको थियो । तर, यो भने सिनेटबाट पारित भएन ।

बाइडेन प्रशासनले यो राहत कोषलाई कति प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछ भन्ने कुराले उनको पहिलो कार्यकालको सफलता मूल्यांकन गर्ने बताइएको छ । बीबीसी