logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दैलेखमा यात्रु बस दुर्घटना अपडेट : मृतक संख्या २ पुग्यो, १६ जना घाइते


अंकुरण खबर
910
Shares

दैलेखमा यात्रु बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस दुर्घटनामा परेको हो । अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रही नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिए ।

बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।

बसमा तीनजना प्रहरी पनि सवार रहेकोमा प्रहरी जवान रमेश चौधरी समेत गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् ।

उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।