कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलामा आगलागीबाट ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
चुरोट खाँदा सल्किएको आगोले अटो रिक्सा जलेर ध्वस्त हुन पुगेको छ । भुजेलास्थित ६० वर्षीया बिस्ना दमाईको घर अगाडि राखिएको परालको थुप्रोमा आगलागी भएपछि रिक्सा जलेको हो । अटो रिक्सा सहित सबै गरी ४ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सोही ठाउँका स्थानीय भरत सार्कीले नजिकै आफ्नो अटो रिक्सा रोकेर चुरोट खाइरहेको अवस्थामा आगो सल्किएपछि आगलागी भएको अनुमान गरिएको बताए ।
सार्की बिहीबार रातिदेखि नै फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।