नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले फेरि हिंसामा जाने कुरा नगरेको बताएका छन् ।
दलित पत्रकार संघको केन्द्रीय अधिवेशनलाई बुटवलमा उद्घाटन गर्दै प्रचण्डले आफूले हिंसामा जाने कुरा नगरेको प्रष्ट पारेका हुन् ।
फेरि एउटा क्रान्तिको पक्षमा आफू रहेको भएपनि अब हिंसाको बाटोबाट नभएर शान्ति र समाजका लागि नयाँ क्रान्तिको आवश्यकता रहेको प्रचण्डले बताए । अब आफ्नो नेतृत्वमा शान्तिपूर्ण क्रान्ति एकपटक फेरि गर्ने उनले बताए ।
देशमा पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रमले राष्ट्रका विरुद्ध ठूलो षडयन्त्रको आभास भएको प्रचण्डले बताएका छन् । उनले नेकपाको एकीकरण विघटनको घटनाले पनि त्यसको पुष्टि हुने बताए ।
प्रचण्डले भने, ‘जन्मिसकेको बच्चालाई फेरि आमाको कोखमा लगिदिने जस्तो अनौठो घटना देखिन थालेको छ । यो कस्तो अनौठो घटना हो ?’ उक्त फैसला राजनीतिक षडयन्त्रको उपज भएको प्रचण्डको निष्कर्ष छ ।
प्रचण्डले कार्यक्रममा बोल्दै अब माओवादी केन्द्र पुनर्गठन गर्दा गुणात्मक रुपमा दलितहरुलाई स्थान दिने बताएका छन् ।