logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको नाम फेरेर ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने


अंकुरण खबर
2.418K
Shares

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पेश भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नाम फर्ने प्रस्ताव राखेका हुन् ।

बैठकको तेस्रो एजेण्डामा पार्टीको नाम फेर्ने सम्बन्धमा सदस्यहरुको राय मागिदैछ । सोही एजेण्डामा कन्युनिष्ट पार्टीबीच एकीकरणको विषय पनि समेटिएको छ । आइतबार मध्यान्हदेखि पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको केन्द्रीय समितिको बैठकमा पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्न औपचारिक रुपमा प्रस्ताव गएको एक नेताले जानकारी दिए ।

बुधबार र बिहीबार बसेको पार्टी स्थायी समिति बैठकमा नाम परिवर्तन गर्ने विषयमा सहमति जुटेको र सोही नाम आजको केन्द्रीय समिति बैठकमा पेस गरिएको उनको भनाइ छ । केन्द्रीय समितिमा आवश्यक छलफलपछि आजै पार्टीको नाम परिवर्तन गर्ने निर्णय हुनसक्ने नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतले नेकपा एमालेसँगको पार्टी एकता गरेर बनेको नेकपालाई अस्वीकार गर्दै पूर्व पार्टीहरुलाई नै व्यूँताइदिएपछि माओवादी केन्द्रको नाम फेर्ने विषयले प्रवेश पाएको थियो । पार्टी ब्यूँताइदिएपछि पार्टी कार्यालय पेरिसडाँडाँमा राखिएको नेकपाको बोर्ड हटाउने सन्दर्भमा यस्तो प्रस्ताव आएको थियो ।

नेता जनार्दन शर्माले पार्टीको बोर्ड फेर्ने भन्दा पनि यही बोर्डसँग मिल्ने नाम राख्न प्रस्ताव गरेका थिए जसमा प्रचण्ड पनि सकारात्मक देखिएका थिए । कतिपयले भने माओवादीको नाम पूर्णरुपमा छोड्न नहुने बताउँदै आएका छन् ।

तर एमालेमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालबीच विवाद जारी रहँदा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको हो । ओलीसँग विद्रोह गरेर झलनाथ, माधवहरु एमालेबाट बाहिरिने र माओवादी केन्द्रभित्र गोलबद्ध हुन समस्या हुने भन्दै पार्टीको नाम फेर्ने विषयमा माओवादी केन्द्रमा छलफल भएको स्रोतको दावी छ ।