प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
उनले चैत ३ गतेको चियापान कार्यक्रममा सहभागी हुन असन्तुष्ट पक्षलाई निम्तो पठाएका छन् ।
माधव नेपाल र झलनाथ खनाल पक्षले आगामी ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । भेलाको अघिल्लो दिन बालुवाटारमा चियापानको आयोजना गरिएको हो ।
वरिष्ठ नेता माधव नेपाल पक्षधर नेतालाई पनि एसएमएस मार्फत चियापानका लागि निमन्त्रणा गरेको ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिए ।
‘सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले पार्टी केन्द्रीय कमिटीको १२ औं बैठकको सन्दर्भमा आयोजना गर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध’ छ, भण्डारीले पठाएको एसएमएसमा भनिएको छ ।
ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुटारमा राखेका छन् । त्यसअघि उनले चियापानको निम्तो गरेका हुन् । चियापानका लागि मंगलबार बिहान ११ उपस्थित हुन भनिएको छ ।
ओलीले फागुन २८ गते आफू निकट केन्द्रीय कमिटीको बैठकमार्फत गरेका निर्णय फिर्ता नलिएसम्म चियापान तथा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने अडान नेपाल पक्षले लिएको छ ।