अवैध रुपमा चन्दा असुली गर्दै हिँडेका ५ जनालाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-१ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिक अवैध रुपमा चन्दा रकम उठाउँदै गरेको अवस्थामा शनिबार ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने मकवानपुर बकैया गाँउपालिका-१ आहालडाँडा घर भएका छिरिङ भन्ने ३७ वर्षीय निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय बिजय लामा र ३५ वर्षीय जित बहादुर थिङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरु बौद्ध भिक्षु (लामा) को भेष धारण गरी टाशी छोग्याल गुम्बा गजुरा नगरपालिका-२ कटानी रौतहटको रसिद लिएर चन्दा उठाउँदै हिँडिरहेका थिए । अवैध रुपमा चन्दा रकम उठाइ ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट चन्दा बापत उठाएको रकम ४२ हजार ४ सय ९१ रुपैयाँ, रसिद ठेली, बिभिन्न फाइल तथा रजिस्टर र फोटो समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप भइ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।