नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले ब्युँताउने सर्वोच्च अदालतको आदेशलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा भएको एमाले अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको छलफलपछि प्रतिक्रिया दिँदै ज्ञवालीले छलफलबाट नै समस्याहरु समाधान गर्दै लैजानुपर्नेमा जोड दिए।
‘बलियो एमालेले नै सिंगो देशलाई एकताबद्ध बनाउन सक्छ। अगाडि बढौं भन्ने हाम्रो आग्रह हो, कुनै निर्णय सच्याउनुपर्ने भए सच्याउँला। भेलाहरु नगरौं, बरु केन्द्रीय कमिटी बैठक सल्लाहबाटै बोलाउँला,’ उनले भने।
केही समयदेखिको संवादहिनता तोडिएको बताउँदै ज्ञवालीले विभिन्न तहमा अनौपचारिक संवाद भइराख्ने र एउटा निष्कर्षमा पुगिने बताए। ज्ञवाली ओली समूहका हुन्।
उता, नेपाल समूहका नेता तथा उपाध्यक्ष भीम रावलले पार्टी ३ वर्ष अगाडि फर्किएकाले त्यसैलाई प्रस्थानबिन्दु मान्नुपर्ने बताए।
‘फागुन २३ गते सर्वोच्च अदालतको फैसला भएपछि भएका निर्णय हामी मान्दैनौं। २८ गते बसेको भनिएको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय मान्दैनौं। त्यसमा हामी सहभागी पनि थिएनौं। बहुमत सदस्य पनि थिएनन् बैठकमा। यही कुरा हामीले आज राख्यौं। तर, यो कुरा मान्छु भनेर प्रधानमन्त्रीले भन्नुभएन। त्यसैले कुरा मिलेन। फेरि छलफल गर्ने भनेको छ तर कहिले गर्ने टुंगो छैन,’ रावलले भने।
फागुन २८ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै माओवादीबाट आएका २३ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको थियो। यो निर्णयलाई नेपाल पक्षले अवैधानिक मान्दै आएको छ।