राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको छ ।
मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न गाह्रो भएको भन्दै आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको हो । सोमबार राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले थर सुचिकृत गर्नको निम्ति आर्थिक वर्ष २०७६/०७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययन समेत भएको बताए । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने उनको भनाई छ ।
अध्यक्ष अन्सारीले मदरसामा पढ्दै गरेका छात्राहरुलाई बाहिरको सरकारी तथा नीजि विद्यालयमा पढ्दा पोशाकको असहजता भएको भन्ने जनगुनासोको सम्बन्धमा छात्राहरुलाई सहज हुने पोशाक लगाउन बातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि बताए ।
आर्थिक वर्ष २०७६/०७७ मा आयोगलाई प्राप्त भएको ५ करोड ६ लाख ८३ हजार ६ सय २८ रुपैयाँ मध्ये २ करोड ५१ लाख ६४ हजार ९ सय ९४ रुपैयाँ ९२ पैसा खर्च भएको आयोगले जानकारी दिएको छ ।