logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेटवार्ता


अंकुरण खबर
923
Shares

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि नियुक्त इजरायली राजदूत गोडेरले तिमिल्सिनासँग सोमबार भेट गरेका हुन् ।

भेटमा तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले दुई देशले संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय मञ्‍चहरूमा साझा चासोका विषयमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसदबीच समेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए ।

इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरे ।

भेटमा इजरायलका राजदूत गोडेरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुसी व्यक्त गरे । इजरायलमा वार्षिक पाँचसय जना नेपाली एघार महिने कृषि तालिम लागि जाने गरेको बताउँदै उनले अब छिट्टै जेष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम सुरु हुने जानकारी गराए ।

नेपालमा पर्यटकको रूपमा घुम्‍न आउँदा इजरायली नागरिक महिनौं बिताउने गरेको र कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उनले जानकारी गराए ।