नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय नेताहरुको भेला राखेका छन् ।
सोमबार बानेश्वरस्थित अर्याल होटलमा नेपालले आफू पक्षीय सांसद र केन्द्रीय सदस्यको भेला राखेका हुन् ।
नेता नेपालले आजको भेटघाटको बारेमा जानकारी दिने भएका छन् । आज अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच धुम्बाराहीमा वार्ता भएको थियो । सो वार्ता निष्कर्षबिहीन भएपछि नेपालले आफू पक्षीय नेताहरुलाई आजको वार्ता र अबको रणनीतिबारे छलफल गर्न अर्याल होटलमा भेला राखेका हुन् ।
धुम्बाराहीको छलफलमा नेपाल पक्षले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने बताएका थिए भने ओली पक्षले राष्ट्रिय भेला नगर्न आग्रह गरेको थियो । नेपाल पक्षले यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने जनाएको छ ।