पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परि नेपाली सेनाका एक जवानको ज्यान गएको छ।
सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमवार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवामा रहेको सैनिक अस्पताल पुर्याएकामा उपचारका क्रममा साँझ ४ः ४५ बजे ज्यान गएको हो । मगर सेनाको कालीजङ्ग गणमा कार्यरत थिए ।
मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ । रासस