logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको चियापान बहिस्कार गरेका वामदेवले बल्खुमा शुरु गरे बेग्लै भेला


अंकुरण खबर
637
Shares

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम समूहको भेला बल्खुमा शुरु भएको छ ।

गौतम पक्षका नेता कार्यकर्ताहरुको पार्टी एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको ‘पूर्ण बैठक’ बल्खुस्थित एक पार्टी प्यालेसमा मध्यान्ह १२ बजेदेखि सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरिरहेका बेला गौतमले भने सो कार्यक्रम बहिस्कार गर्दै आफू पक्षीय नेताहरुको छुट्टै भेला बोलाएका हुन् ।

ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा गौतम पक्षधर केन्द्रीय सदस्यहरु सहभागी छैनन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको थियो । नेकपा विभाजित हुँदा गौतम भने एकताको पक्षमा थिए ।

गौतमले तत्कालीन नेकपा रहँदा पार्टी एकता अभियान नै घोषणा गरेका थिए । तर, सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नाम ऋषि कट्टेल नेतृत्वको पार्टीले पाउने ठहर गर्दै एमाले र माओवादी केन्द्र साबिक अनुसारै अलग अलग पार्टी रहने फैसला सुनाएको थियो ।

सर्वोच्चको उक्त फैसला पछि ब्यूँतिएको एमालेमा पनि आन्तरिक विवाद झन चुलिएको छ । ओलीले आफू र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेपछि झलनाथ खानल र माधव नेपाल समूहले समानान्तर समिति गठन गरेको छ ।

सर्वोच्चको फैसला पछि ब्यूँतिएको एमालेलाई एकतावद्ध बनाएर लैजाने भन्दै आएका गौतम फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयपछि उनीसँग रुष्ट बनेका हुन् ।

फागुन २८ गते अध्यक्ष ओलीले पार्टीमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खोसेका थिए भने केन्द्रीय समितिमा २३ जना सदस्य मनोनय नगरेका थिए ।

अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोस्ने तथा केन्द्रीय समितिमा २३ जना मनोनयन गर्ने ओलीको कदम सच्याइनुपर्ने गौतमको अडान छ ।