logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा शुरु


अंकुरण खबर
728
Shares

नेकपा एमालेको खनाल–नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला शुरु भएको हो ।

भेलामा देशभरबाट एमाले कार्यकर्ता सहभागी भएका जनाइएको छ । भेलामा देशभरबाट तीन हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने जनाइएको छ ।

खनाल–नेपाल पक्षका केन्द्रीय सदस्य दिलु पन्तका अनुसार भेलामा केन्द्रीय सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, संघ तथा प्रदेशका सांसदहरू, समन्वय समितिका प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।

भेलाको उद्घाटन कार्यक्रमलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गर्ने जनाइएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवादमा सुनाएको फैसालापछि ब्यूँतिएको एमालेमा आन्तरिक विवाद विभाजनकोस्तरमा पुगेको छ ।

फागुन २८ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ‘एकलौटी रुपमा’ केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेर र महाधिवेशनको मिति तोक्ने निर्णय गरेपछि वरिष्ठ नेता खनाल र नेपाल पक्षले छुट्टै कार्यकर्ता भेला बोलाएको हो ।

भेला भोलि (बिहीबार)सम्म चल्नेछ । देशभरबाट सहभागी सदस्यहरूले दिने सुझावका आधारमा आगामी रणनीति तय गरिने खनाल–नेपाल पक्षले जानकारी दिएको छ ।