नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
बिहीबार ११ बजे बालुवाटारमा बैठक बोलाएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।
‘बिहीबार ११ बजे बालुवाटारमा बस्ने बैठकमा आउन सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो गरिएको छ’, भट्टराईले भने, ‘बाँकी निर्णय बैठकले नै गर्छ ।’
माधव नेपाल–खनाल झलनाथ पक्ष भने उक्त बैठकमा सहभागी नहुने भएको छ । नेता सुरेन्द्र पाण्डेले भने, ‘हामी बैठकमा सहभागी हुँदैनौं ।’
ओलीले गत फागुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ माधव पक्षले बुधबारबाट राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ । दुई दिनसम्म चल्ने भेलामा महत्त्वपूर्ण निर्णय गर्ने तयारी नेपाल–खनाल पक्षको छ ।
उक्त भेलालाई ओली पक्षले गुटको भेला भनेको छ । तर नेपाल खनाल पक्षले पार्टीको आधिकारिक भेला भनेर दावी गरेको छ ।