नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केही सांसद प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको नेकपा संसदीय दलको बैठकमा नगएर बीच बाटोबाटै फर्किएका छन्।
बैठकमा सहभागी हुन स्थायी कमिटीका सदस्यबाहेकका सांसदहरु बालुवाटार जाने भनी हिँडेको भएपनि उनीहरु बीच बाटोबाटै फर्किएका हुन्।
सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने भन्ने सल्लाह भएको थियो । तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थितिमा भएको छलफलले बालुवाटार नजाने निष्कर्ष निकाल्यो । ‘पहिले जाने भन्ने भयो, फेरि नजाने भन्ने भयो । अब हामी जान्नौं’, सांसद दीपकप्रकाश भट्टले भने ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो।
राष्ट्रिय भेलामा व्यस्त भएकाले बिहीबारका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने एमाले नेपाल समूहले बुधबार नै जनाएको थियो।
प्रधानमन्त्री ओलीले सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएका थिए । सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्।