नेकपा एमालेको संसदीय दलको विधान संशोधन हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी दलको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठनको तयारी गरेको हो ।
त्यस्तै बैठकले संसदीय बोर्डसमेत गठन गरेको छ । बोर्डमा २७ जना सांसद रहनेछन् । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले बैठकबाट बोर्ड गठन गरिएको छ ।
विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको सांसद महेश बस्नेतले जानकारी दिए ।
बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल माधव कुमार नेपाल पक्षले नजाने निर्णय गरेको थियो ।
सानेपामा आजै विहान बसेको उक्त समूहको बैठकले बालुवाटार मुख्य नेताहरुबाहेकका सांसद जाने निर्णय गरेको थियो र सांसदहरु प्रस्थानसमेत गरेका थिए । तर विरोध भएपछि उनीहरु बीच बाटोबाटै फर्किएका छन् ।
माधव समूहका केही सांसद भने बालुवाटारको बैठकमा सहभागी भएको जनाइएको छ ।