नेपाल कम्युनिष्ट पार्टी (एमाले) को असन्तुष्ट समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
ललितपुरको सानेपामा जारी राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नेकपा(एमाले)का नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताए । भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनको भनाइ छ । वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफूहरूको जोड रहेको उनको भनाइ छ ।
नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दवावका लागि भेला राखिएको टिप्पणी गरे । भने नेता ठाकुर गैरेले अध्यक्ष ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरू सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, नेता मोहनचन्द्र अधिकारीले ओलीले वर्गिय दृष्टिकोण छोडेको आरोप लगाए । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गरेको उनको आरोप छ । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरू पनि गल्ती सच्याउन तयार रहेको बताए ।