पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
आज बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताएका हुन् ।
परिवारका सदस्यहरुसँगको भेटपछि जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने उपप्रधानमन्त्री पोखरेलले बताए । पोखरेलले उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन् ।
बिहीवारको मन्त्रिपरिषद् बैठकबाट जोशीलाई उक्त सहयोग गर्ने निर्णय भएको थियो ।
गएको फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।
उनको अवस्था जटिल रहेको उपचारमा संलग्न डाक्टरले बताउँदै आएका छन् ।