काठमाडौंको दक्षिणकाली नगरपालिकाअन्तर्गतको चाल्नाखेल जंगलमा शुक्रबार बिहान भेटिएको दुई युवाको शवको पहिचान खुलेको छ ।
मृत फेला परेकामा काभ्रेका मंगल तामाङ र नुवाकोटका अर्जुन खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । उनीहरु साथीसाथी हुन् । दुवै जना काठमाडौँको बाङ्गेमुडामा बस्दै आएका थिए ।
अर्जुनका दाइले भाइको शव सनाखत गरेपछि अर्का युवकको पनि पहिचान खुलेको हो । उनीहरु दुवै जना १६/१७ वर्षका हुन् ।
मृत भेटिएको स्थान नजिकै विषको बोतलसमेत भेटिएको प्रहरीले जानकारी दिएको छ । दुवैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरुको मृत्युको कारण खुल्ने प्रहरीलेको भनाइ छ । यद्यपि, प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार उनीहरुले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान छ ।
बिहीबारदेखि अर्जुन सम्पर्कबिहिन भएको आफन्तको भनाइ रहेको प्रहरीले जनाएको छ ।