logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोप अभियानमा सघाउन विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड रूपैयाँ दिने


अंकुरण खबर
3.276K
Shares

कोरोना रोकथाम र खोप अभियानमा सघाउन विश्व बैंकले नेपाललाई करिब ८ अर्ब ७० करोड रूपैयाँ दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ ९आईडा० मार्फत वित्तीय सहयोगको अनुमोदन गरेको हो ।

वित्तीय सहयोगद्वारा समतामूलक वितरण योजनाको माध्यमबाट कम्तीमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ ।

सहयोगको ९० प्रतिशत रकम कोभिड–१९का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्याबाहेकका अन्य समूहमा खोप विस्तार गर्नमा परिचालित हुने विश्व बैंकले जनाएको छ ।

बाँकी रकमले कोभिड–१९ खोपका पहलहरूलाई सघाउन र कोभिड–१९ सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याइ नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने पनि विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।नेपालका लागि यो अतिरिक्त आर्थिक सहयोग दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो ।