logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै


अंकुरण खबर
1.326K
Shares

नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्न लागेको छ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। संसदीय दलको बैठक आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाएको छ।

त्यसपछि १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। केन्द्रीय कमिटी बैठक पनि बालुवाटारमै बोलाइएको छ। आजका बैठकबाट विधान संशोधन गरिने जनाएको छ।

एमाले संसदीय दलको बैठक चैत ५ गते बसेको थियो। बैठकले विधान संशोधन गर्न तीन सदस्यीय कार्यदल बनाएको थियो।

विशाल भट्टराईको नेतृत्वमा शेरबहादुर तामाङ र विमला राई पौड्याल सदस्य रहेको कमिटीले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पारेको छ। कार्यदलले संसदीय दलको बैठकमा संशोधन प्रस्ताव दिनेछ।

त्यसलाई संसदीय दलको बैठकले पारित गर्ने तयारी छ। संसदीय दलले पारित गरेको प्रस्तावलाई मध्याह्न बस्ने केन्द्रीय कमिटीको बैठकबाट पारित गराउने प्रधानमन्त्री ओलीको तयारी छ।

आज दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ। शुक्रबार साँझ बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले यस अघि गरेका निर्णय फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षका केन्द्रीय सदस्यको बैठक बसालेर नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए। त्यस्तै, माओवादीबाट आएका रामबहादुर थापासहितका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एकीकरण बदर गर्ने निर्णय गरेसँगै एमाले र माओवादी अलग भएका छन्। त्यसले एमालेमा पनि विवाद उत्पन्न भएको छ।