राजधानी काठमाडौंमा आइतबार एक जना व्यक्तिको हत्या भएको छ ।
अपरिचित व्यक्तिले ढुंगाले हान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा आइतबार ५५ वर्षीय पुरुषको हत्या भएको हो । कलङ्कीस्थित थापागाउँमा बिहान अपरिचित व्यक्तिले ढुंगाले हिर्काउँदा चौधरी थरका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
हत्या आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।
अपराध महाशाखा, परिसर काठमाडौं र प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले थापालाई ढुंगेअड्डाबाट पक्राउ गरेको हो ।
कलंकी क्षेत्रमा मजदुरी गरेर खाइ हिँड्ने चौधरीको टाउकोमा चोट लागेको थियो । चोट लागेपछि अस्पताल पु¥याइएपनि उनको मृत्यु भयो । उनको शव शहीद अस्पताल कलङ्कीमा छ ।
आइतबार विहान साढे २ बजे सडक पेटीमा सुतिरहेका चौधरीलाई आरोपीले ढुंगाले हिर्काएर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । थापाले ढुंगाले हिर्काएर चौधरीको हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् ।