डडेल्धुरामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउदको हत्या गरेका हुन् ।
ढेड फिट लामो चिरेको काठले हिर्काएर मनिषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
शनिबार दिउँसो ३ बजे साउदले श्रीमतीको हत्या गरेर आफैंले स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको उनले बताए ।
श्रीमतीको हत्या गरेका साउदलाई शनिबार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायव निरीक्षक चन्दले बताए ।
श्रीमान् श्रीमतीमा सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको छ।
‘म बाहिर थिएँ । घरमा आउँदा श्रीमती रक्ताम्य देखेँ। मृत्यु भइसकेको जस्तो छ भनेर साउदले प्रहरीकहाँ खबर गरे सुरुमा,’ प्रहरी नायब निरीक्षक चन्दले भने, ‘प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनिषाको मृत्यु भइसकेको थियो । पछि प्रहरीसमक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन् ।’
मृतक मनिषाका एक छोरा र एक छोरी छन् ।
मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।