logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि गैँडा गणना शुरु हुँदै, बैशाख पहिलो साता तथ्यांक सार्वजनिक गरिने


अंकुरण खबर
1.95K
Shares

नेपालमा तोकिएको समयभन्दा करिब दुई वर्षपछि आजबाट विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना शुरु हुने भएको छ ।

गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणनाको शुरुवात गर्ने कार्यक्रम रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु हुनेछ ।

गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो । चितवन र पर्सामा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गते र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना शुरु हुने बताइएको छ ।

चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

पाँच–पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना संक्रमण र त्यसअघिको वर्ष बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो । गणनाका लागि हात्ती र गणकहरु छनोटको काम भैसकेको र उनीहरुलाई आवश्यक तालिमसमेत दिइएको बताइएको छ ।

गणनामा ६० वटा हात्ती र मानवीय जनशक्ति परिचालित हुनेछन् । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्नेछन् ।

गणनाका लागि दूरबिन र क्यामेराको पनि प्रयोग हुनेछ । यसपटक हुन लागेको गणनाले गैँडाको वास्तविक अवस्था, गैँडाको संख्या, प्रजनन् अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन सहज हुने विश्वास लिइएको छ ।