logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्न लड्नेछौ, बाँकी जिम्मा जनताको : गगन थापा


अंकुरण खबर
1.274K
Shares

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अपमान गरेको बताएका छन् । आज प्रतिनिधि सभामा बोल्दै सांसद थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभासँग बदला लिन खोजेको आरोप लगाए ।

‘कहिले प्रश्न छल्न हठात् बैठक स्थगित,’ उनले भने, ‘कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग, अहिले प्रतिनिधि सभा विघटन गर्ने सनक सही थियो भन्नका लागि संसदलाई कामविहीन बनाउने प्रपन्च भएको छ । जतिदिन यो सरकार रहन्छ । संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ ।’

उनले आफूहरू संसदको गरिमा बचाउन डटेर लड्ने बताए । जनताले यसको हिसाब किताब समेत गर्ने उनले बताए ।

‘यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौं,’ उनले भने, ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर, संसदलाई एउटा पनि विधेयक नदिने रु अनि विधेयकलाई कानुन बनाउनका लागि चाहिने राष्ट्रिय सभा पनि नबोलाउने । हामी स्पष्ट छौं । हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्न लड्नेछौ । बाँकी जिम्मा जनताको । उचित समयमा जनताले यसको हिसाब किताब गर्नेछन् । आफ्नो अपमानको बदला जनताले लिनेछन् ।’