logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगलादेश भ्रमण सकेर आज स्वदेश फर्कदैं राष्ट्रपति भण्डारी


अंकुरण खबर
767
Shares

बंगलादेशमा दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किँदै छिन् ।

हिजो बिहान ढाका पुगेकी भण्डारी आज अपरान्ह काठमाडौं फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बंगलादेश भ्रमणका क्रममा भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी छिन्। गएराति बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिद र भण्डारीबीच द्विपक्षीय भेटवार्ता भएको थियो।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए। बंगलादेशको राष्ट्रपति निवास बंग भवनमा गएराति भएको भेटवार्तापछि दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटबारे समझदारीपत्र आदान प्रदान भएको थियो।

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी हुन्।

राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्।

यसैबीच परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको जारी बंगलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन्।

भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताए।